मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

बनकरिया बस्तीमा होमस्टे

सम्भवतः देशमै सबैभन्दा कम जनसंख्या रहेको बनकरिया जातिको बसोबास मनहरी गाउँपालिका वडा नं ४ स्थित मुसेधापमा छ । चेपाङ जातिसँग भाषा, लवाईखवाई, रीतिथिति र परम्परासमेत मिल्ने यो जातिका मानिसको अस्तित्व २ दशकदेखि मात्रै स्थापित भएको हो । चेपाङ समुदायका मानिसहरु चाहिँ बनकरियालाई छुट्टै जात मान्न तयार छैन । तर, अति सीमान्तकृत यो जातिका लागि सरकारले सामाजिक सुरक्षा भत्ता दिएर सुविधाहरु पनि दिइरहेको छ । १९ वटा घरमा ८४ जना बनकरिया यो बस्तीमा बस्छन् ।

थोरै जनसंख्या भएको र जंगलमा आश्रित रहेको बनकरिया जातिबारे अध्ययन गर्न अनेक अनुसन्धानदाताहरु बस्तीमा पुग्ने गर्छन् । सरकारले कबुलियती बन क्षेत्रमा बस्ती राखेर बस्नका लागि सुरुमा १२ घरलाई अनुमति दिएको थियो ।
बनकरिया बस्तीको प्रवद्र्धन र रीतिथिति, कला, संस्कृतिको समेत प्रचार गर्न मनहरी गाउँपालिकाले मुसेधापस्थित बस्तीमा होमस्टे निर्माण कार्य अघि बढाएको छ । बनकरियाले जंगलबाट ल्याउने कन्दमुल, सागपात र खानेकुरा होमस्टेमा आउने पर्यटकलाई चखाउने र स्थानीय कुखुरा, माछाको समेत स्वाद चखाउने गरी होमस्टेको अबधारणा ल्याइएको हो ।

पूर्वपश्चिम राजमार्गको रजैयाबाट ३० मिनेटमा गाडी चढेर यो बस्तीमा पुग्न सकिन्छ ।

बनकरिया होमस्टे

तस्विरहरु हेर्नुहोस्