भ्रमण गर्नुहोस्
वि.सं. १९०४ मा तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा, कुनै अप्रिय घटना नहोस् भनि, हाल सुरुङ्गको मुख भन्दा दक्षिण पट्टि एउटा सानो मन्दिर स्थापना गरिएको थियो ।
आर्किटेक्ट इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लिजंग थापाले, सुरुङ्ग मार्गको डिजाइन गरी चुरिया डाडाँमा सुरुङ्ग निर्माण गर्ने कार्य गर्न लाग्दा सुरुङ्गको मुखमा आफ्नो थान रहेको भनि सपनामा अलौकिक आदेश भयो । फलस्वरुप देवीको मुर्ति उत्खनन गरी सुरुङ्गकै प्रवेशद्वारबाट पुर्व चुरियामाई देविको स्थापना गरी सुरुङ्ग मार्ग खन्ने काम सन् १९१७ मा सुरु गरिएको तथ्य बाहिर आएको बुझिन्छ ।
चुरे पहाडकै फेदिमा सुरुङ्ग खन्ने क्रममा उक्त मुर्तिको उत्पत्ति भएकोले "चुरियामाई देवी" भनि नामाङ्करण गरिएको थियो । लगभग २ मिनेटको पैदल भर्याङ्ग र कच्ची बाटो हुँदै मुख्य पक्की राजमार्ग सडकबाट सजिलै यो हिन्दुहरुको शक्तिपिठ पुग्न सकिन्छ ।
टाढा टाढा देखि हजारौँ भक्तजनहरु यस चुरियामाई देवीको दर्शन गर्न आउने गर्दछन् । कुनै पनि काम गर्न आँट्दा यस देवी माताको पुजा आराधना गर्नाले कुनै पनि बिघ्न बाधा आइनपर्नेमा भक्तजनहरुको पूर्ण बिश्वास रहेको छ । प्रत्येक शनिवार र मङ्गलवार यहाँ भक्तजनहरुको बाक्लो आवतजावत हुने र मुख्यतया विजयादशमीको घटस्थापना देखि दशमीसम्म भक्तजनहरुको लावालस्कर र ठुलै घुइँचो हुने गरेको यस चुरियामाई मन्दिरमा नरिवल देखि पशुपंक्षीको बलिभोग देवीलाई चढाइन्छ ।
छिमेकी मुलुक भारतको सिमावर्ती सहर रक्सौल लगायत दक्षिण पुर्वी नाका तर्फका भारतको हिन्दु धर्मावलम्बीहरु पनि यस देवी मन्दिरमा गाढा आस्थाका साथ आउने जाने क्रम निरन्तर चलि नै आइरहेको छ ।
सवारी साधनबाट पनि मन्दिर दर्शन गर्न सकियोस् भनेर मुलदेवीबाट तल अर्को देवीको मुर्तिमा प्राणप्रतिष्ठा गरी पुजा आजा गरिदै आएको छ । गाडीबाट तल ओर्लिई पुजाआजा गर्न समय नभ्याउने भक्तजनहरुले गुडिरहेको सवारी साधनबाट पनि सिक्का पैसा चढाएर देवीमा आफ्नो आस्था प्रकट गर्ने चलन चलिआएको छ । झन कुनै पनि नयाँ साना देखि ठुला सवारी साधन खरिद गर्ने क्रममा यस देवीलाई पुजे, देवीले धनजनको रक्षा गर्ने प्रगाढ विश्वास रहदै आएको छ ।
तस्विरहरु हेर्नुहोस्