मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

चुरिया सुरुङ्ग

तीन तिर अग्ला पहाडका ढिक्काले दविएर रहेको यस गुफा, हेटौँडाबाट १३ किलोमिटर दक्षिण चुरे पहाडमा अवस्थित छ । अहिले यो संरचना गुफामा परिणत भएता पनि तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरले चुरे पहाड खोपेर यो सुरुङ्ग बनाउन लगाएका थिए । सन १९८३ देखि अमलेखगंज - भिमफेदी सडकखण्ड सञ्चालनमा आएपछी सुरुङ्गमार्ग हुँदै राणाले अमलेखगञ्ज सम्म रेलबाट ल्याएका सामान लरि तथा साना सवारी साधनबाट भिमफेदी पुर्‍याउने गरेका थिए । सुरुङ्गको दुवैतर्फ पालेघर निर्माण गरि गाडी आएको समयमा झण्डा हल्लाएर जनाउ दिने गरिएको स्थानिय बुढापाका र तत्कालिन पालेका पुस्ताहरु बताउँछन् । यो सुरुङ्ग परिक्षणको क्रममा, सिमेन्टबाट नभइ चुना-सुर्कीबाट यसको निर्माण भएको पाइएको थियो ।

करिब ५०० मिटर लामो यो सुरुङ्ग निर्माण भएको केही बर्षसम्म सञ्चालन भएतापनि गाडीको मोडल परिवर्तन भइ ठुलो गाडी आएको हुँदा राजमार्ग निर्माणको क्रममा सुरुङ्गको आधा भाग बिस्फोट गराएर सडक निर्माण गरिएपश्चात यो सुरुङ्ग ओझेलमा पर्न गइ गुफाको रुप लिएको यसको इतिहासको अध्ययनले देखाउँछ ।

सन १९१७ को प्रथम विश्वयुद्ध ताका नेपालको प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वको टोलीले यो सुरुङ्गमार्ग निर्माण शुरु गरि सन १९१८ मा निर्माण सम्पन्न गरेका थिए । यो सुरुङ्गको चौँडाइ ३ मिटर र उचाई ३ मिटरको रहेको थियो । जिप्सी गाडी मात्र सञ्चालन हुने त्यसताका, भिमफेदी निवासी लाल श्रेष्ठको जिप्सी गाडी यस सुरुङ्गमा सर्वप्रथम चलाइएको थियो ।

वागमती प्रदेशको गौरव, चुरिया सुरुङ्गलाई राष्ट्रिय सम्पदा घोषणा गर्न गराउन पुरातत्व विभागबाट चुरिया सुरुङ्ग क्षेत्रको स्थलगत अवलोकन, नाप-जाँच, निर्माणमा प्रयो भएको ऐतिहासिक परिक्षण पनि गरिएको थियो । राजमार्ग सडकबाट करिब ६०-७० मिटरको उचाईमा भएको प्रवेशद्वारलाई आधार मानि देखिने कंक्रिट ब्लक नजिकको भागबाट उत्खनन् गरेर सुरुङ्ग भित्र सरसफाई गरि बत्ति राख्ने र तत्कालिन समयमा प्रयोग भएका सामान तथा चित्रकला सुरुङ्गमा सजाएर शिलापत्र राख्ने समेत योजना थियो ।
यस सुरुङ्गको उत्तरतर्फ हेटौँडा उपमहानगरपालिका १५ र दक्षिण तर्फ बारा जिल्ला पर्दछ । चुरे पर्वत श्रृंखलामा अवस्थित यस सुरुङ्ग मार्ग, नेपालको मात्र नभइ दक्षिण एसियाकै प्रथम मानव निर्मित सुरुङ्गमार्ग हो भन्ने कुरामा नेपालका ईतिहासकार तथा पुरातत्वविद्‌हरु विश्वस्त छन् ।

राष्ट्रिय सम्पदा समेत घोषणा गर्न गराउन पहल भएको यो सुरुङ्गमार्गको बारेमा नेपाललाई राम्ररी घुमेर बुझेका स्विस नागरिक टोनी हेगनले समेत सन् २००४ मा आफ्नो पुस्तक "दि हिमालयन किङ्डम अफ नेपाल" मा यस सुरुङ्गलाई थप महत्वका साथ व्याख्या र वर्णन गरेका छन् । उनले यस पुस्तकमा यस सुरुङ्गलाई संसारको सात आश्चर्यपछिको अर्को आश्चर्य समेत भन्न भ्याएका छन् ।

हाल यहाँ नेपालको प्रथम ग्राजुएट इन्जिनियर तथा यस सुरुङ्ग निर्माणको नेतृत्वकर्ता डिल्लिजंग थापाको अर्धकदको सालिक निर्माण गरिएको छ ।

चुरिया सुरुङ्ग (गुफा)

तस्विरहरु हेर्नुहोस्