मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

हात्तीसार

हेटौँडा बजारबाट २३ किमी उत्तर पूर्व हाल काठमाडौँ जाने छोटो दुरिको बाटोमा पर्ने भिमफेदी भन्दा अलि माथि एउटा हात्तीसार रहेको छ । यो हात्तीसार नेपालकै पहिलो हात्तीसार हो । जंग बहादुर राणाले वि.सं. १९०४ तिर शिकार खेल्न आउँदा यहाँ हात्ती राखिएको थियो ।

पछि चन्द्र शमशेरको पालामा ६५ फिट चौडाई, १५० फिट लम्बाईको पक्की हात्तीसार घर निर्माण भयो । सोही समयमा बेलायती महारानी र नेपालका राजा महाराजाहरु शिकार खल्न जाँदा हात्तीमा राखिने हौदा हाल सम्म पनि यस हात्तीसारमा हेर्न पाइन्छ ।

यो हात्तीसार करिब ३२ रोपनीको क्षेत्रफलमा फैलिएको छ । यहाँ जनानी हौसा, शिकारी हौदा, सुसारे हौदा र भारदारी हौदा लगायतका हौदाहरु छन् ।

हौदा भन्नाले हात्तीको ढाडमाथि राखेर यात्रा शिकार गर्दा बस्ने ठाँउ हो । हाल यहाँ ४२ वटा हौदा लगायत शिकार गर्दा प्रयोग हुने विभिन्न सामग्रीहरु रहेका छन् । बाघको शिकार गर्दा घेर्न प्रयोग भएका कपडाहरुपनि अहिले सम्म पट्टयाएर राखिएको अवस्थामा देख्न सकिन्छ ।

राजा महेन्द्र चढेको हौदा देखि महारानी एलिजावेथ चढेको हौदा समेत यहाँ अहिलेसम्म सुरक्षित छन् । WW को प्रतिनिधि टोली समेत यहाँ निरिक्षण गर्न आएका थिए । हालको हात्तिसार चितवन राष्ट्रिय निकुञ्जको रेखदेखमा रहेको छ । यहाँ हात्तिसारमा, जुरिखेतबाट जिपलाइन पर्यटन प्रवर्धनको तयारी समेत हुँदै छ ।

हाल यहाँ लामा थरका एक कर्मचारीले २०२४ साल देखि नै उक्त हात्तीसारको सुरक्षा गर्दै आएका छन् ।

हात्तीसार

तस्विरहरु हेर्नुहोस्