मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

चिसापानी गढी

हेटौँडाबाट भिमफेदी हुँदै उत्तर तर्फ २९ किमी मा यो गढी पर्दछ । वि.सं. १६२० तिर सेन बंशका राजा लोहान सेन द्वारा यसको स्थापना र निर्माण भएको इतिहास भेटिन्छ ।

यो गढी समुद्र सतहबाट ९०० मि देखी १४०० मि सम्मको उचाईमा पर्दछ । यस किल्लाको लम्बाई ५ फिट, चौँडाई ३६ फिट, गहिराई २२ फिट छ भने गारोको मोटाई ८ फिट रहेको छ ।
पछी १८६४ सालमा यस गढीको पुनर्निर्माण गरिएको हो । यो गढी निरन्तर राणा कालसम्म सञ्चालित थियो । मुख्यतया मल्ल राज्यसँग सेन राज्यको सिमाना सुरक्षाको लागि यो गढीको निर्माण भएको थियो ।
यस गढीमा राणाकालको मध्य समयमा १२ भैरव मध्ये एक बटुक भैरव स्थापना गरियो ।

लगातार महिलाहरु प्रवेश गर्दा कोही रगत छादेर त कोही मासिक श्राव बढी भएर मृत्यु भएपछि र गोरुहरु पनि प्रवेश गर्दा मरिरहने क्रम लगातार भएपछी यस ठाँउमा महिला र गोरुको प्रवेश बर्जित छ ।

त्यहाँको पुजारीको भनाइ अनुसार पुजाआजा प्रथामा विधी कर्म नपुगेको खण्डमा त्यस किल्लाको वरिपरि बाघ आएर अहिले पनि कराएर घुम्ने गरेको र फेरि पुजाआजाको प्रकृया पुर्याएकोमा उक्त बाघ फेरि जंगलतिर गएर हराउने गरेको छ । त्यसैले गुडिरहेको सवारीसाधनहरुबाट हेर्दा साधारण लागे पनि यो गढीमा रहस्यमय र अदृश्य शक्तिको बास रहेको मानिन्छ ।

यहाँ भरुवा बन्दुकका गोलिहरु देखि तोपका गोलीहरु प्रशस्त भेटिन्छन् । यहाँ विभिन्न ठाउँमा दाग्ने ६ तोपहरु छन् । जस्तै काली तोप रक्सौल सम्म, अर्को सानो पोखरा सम्म , अर्को पथलैया सम्म र अर्को बागमती सम्म हान्न मिल्ने तोपहरु छन् ।
समग्रमा यो चिसापानी गढी मकवानपुर जिल्लाकै ऐतिहासिक पर्यटकिय गन्तब्य मध्ये एक हो ।

चिसापानी गढी

तस्विरहरु हेर्नुहोस्