मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

चुरियामाई मन्दिर

वि.सं. १९०४ मा तत्कालिन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा, कुनै अप्रिय घटना नहोस् भनि, हाल सुरुङ्गको मुख भन्दा दक्षिण पट्टि एउटा सानो मन्दिर स्थापना गरिएको थियो ।

आर्किटेक्ट इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लिजंग थापाले, सुरुङ्ग मार्गको डिजाइन गरी चुरिया डाडाँमा सुरुङ्ग निर्माण गर्ने कार्य गर्न लाग्दा सुरुङ्गको मुखमा आफ्नो थान रहेको भनि सपनामा अलौकिक आदेश भयो । फलस्वरुप देवीको मुर्ति उत्खनन गरी सुरुङ्गकै प्रवेशद्वारबाट पुर्व चुरियामाई देविको स्थापना गरी सुरुङ्ग मार्ग खन्ने काम सन् १९१७ मा सुरु गरिएको तथ्य बाहिर आएको बुझिन्छ ।

चुरे पहाडकै फेदिमा सुरुङ्ग खन्ने क्रममा उक्त मुर्तिको उत्पत्ति भएकोले "चुरियामाई देवी" भनि नामाङ्करण गरिएको थियो । लगभग २ मिनेटको पैदल भर्‍याङ्ग र कच्ची बाटो हुँदै मुख्य पक्की राजमार्ग सडकबाट सजिलै यो हिन्दुहरुको शक्तिपिठ पुग्न सकिन्छ ।

टाढा टाढा देखि हजारौँ भक्तजनहरु यस चुरियामाई देवीको दर्शन गर्न आउने गर्दछन् । कुनै पनि काम गर्न आँट्दा यस देवी माताको पुजा आराधना गर्नाले कुनै पनि बिघ्न बाधा आइनपर्नेमा भक्तजनहरुको पूर्ण बिश्वास रहेको छ । प्रत्येक शनिवार र मङ्गलवार यहाँ भक्तजनहरुको बाक्लो आवतजावत हुने र मुख्यतया विजयादशमीको घटस्थापना देखि दशमीसम्म भक्तजनहरुको लावालस्कर र ठुलै घुइँचो हुने गरेको यस चुरियामाई मन्दिरमा नरिवल देखि पशुपंक्षीको बलिभोग देवीलाई चढाइन्छ ।

छिमेकी मुलुक भारतको सिमावर्ती सहर रक्सौल लगायत दक्षिण पुर्वी नाका तर्फका भारतको हिन्दु धर्मावलम्बीहरु पनि यस देवी मन्दिरमा गाढा आस्थाका साथ आउने जाने क्रम निरन्तर चलि नै आइरहेको छ ।

सवारी साधनबाट पनि मन्दिर दर्शन गर्न सकियोस् भनेर मुलदेवीबाट तल अर्को देवीको मुर्तिमा प्राणप्रतिष्ठा गरी पुजा आजा गरिदै आएको छ । गाडीबाट तल ओर्लिई पुजाआजा गर्न समय नभ्याउने भक्तजनहरुले गुडिरहेको सवारी साधनबाट पनि सिक्का पैसा चढाएर देवीमा आफ्नो आस्था प्रकट गर्ने चलन चलिआएको छ । झन कुनै पनि नयाँ साना देखि ठुला सवारी साधन खरिद गर्ने क्रममा यस देवीलाई पुजे, देवीले धनजनको रक्षा गर्ने प्रगाढ विश्वास रहदै आएको छ ।

चुरियामाई मन्दिर

तस्विरहरु हेर्नुहोस्