मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

गोल्मे दरवार क्षेत्र

बागमती गाँउपालिका वडा नं. ६ फापरबारी, साविक फापरबारी गा.वि.स. ७, को पूर्व पट्टिको डाँडोको टुप्पोमा रहेको गोल्मे दरवार क्षेत्र एक ऐतिहासिक पुरातात्विक स्थल हो ।

हाल भग्नावशेषको रुपमा रहेको गोल्मे दरवारमा परापूर्वकालमा गोले मेमे नाम गरेको राजाको दरवार रहेको जनविश्वास र किम्बदन्ति पाइन्छ ।

१७ औँ सशताब्दी ताका सेन बंशी राजाले राज्य विस्तार गर्ने क्रममा यिनै गोले राजालाई अपदस्त गरेका अलिखित इतिहास स्थानिय जानकारहरुबाट थाहा हुन आउँछ । भग्नावशेषको रुपमा मात्र रहेको यस दरवारका गौडा गौडा गरि तिन घेरो स्पष्ट देख्न सकिन्छ । इट्टा र माटोबाट बनेको घर किल्लाको केही ढिस्को, ढुङ्गे धारा र प्राचिन ढुङ्गे मुर्ति रहेको यस स्थान वरिपरी घना जंगल र डाँडोको चुचुरोमा रहेको रहस्यमय स्थान पनि हो ।

गोले मेमे राजालाई अपदस्त गरिएपछि यहाँको पहिलो आदिवासी भनेकै काभ्रेबाट बसाई सराई गरेर आएका दनुवार राई जाति थिए भन्नेमा स्थानिय ८औँ पुस्ताका एकजना स्थानिय राई थरका व्यक्ति ठोकुवा गर्दछन् । गोले मेमे राजा अपदस्त भएपछि बिचमा लामो समय यो दरबार संरक्षण नपाई ओझेलमा परेको समेत उनीहरु स्विकार गर्दछन् ।

अहिले यसको हेरचाह, संरक्षण र सरसफाइको निमित्र स्थानिय तह तथा साविक गाविसले समेत बजेट व्यवस्थापन गर्दै आएको छ । अहिले पनि त्यहा प्राचिन गोलीका खोकाहरु, माटाका भाडाका टुक्राहरु, दियो आदी भेटिन्छन् ।
तल्लो फापरबारी बजारमा समेत, जगको लागि खाल्डो खनि हेर्दा तामा र पित्तलका थाल र कसौँडीहरु भेट्टिएको थियो ।

रहस्यमय यस स्थान फापरबारी बजारबाट १.५ कि.मी. उकालो चढेपछी पुग्न सकिन्छ । यस स्थान बागमती गाँउपालिकाको मात्रै नभइ समग्र मकवानपुरको एतिहासिक पर्यटकिय गन्तब्य मध्ये गोल्मे दरवार पनि एक उत्कृष्ट गन्तब्य हो ।

गोल्मे दरवार

तस्विरहरु हेर्नुहोस्