मकवानपुरको आधिकारिक पर्यटन पोर्टल

मकवानपुर गढी दरवार क्षेत्र

करिब १२औँ शताब्दी तिर सेन राजाहरुले उत्तरभेग तिर सुरक्षित स्थान खोज गर्दै जाँदा मकवानपुर गढी एउटा अग्लो थुम्कोको रुपमा सुरक्षित स्थान भेट्टिएकोले गढी किल्ला निर्माण गर्न लगाए । जहाँबाट सेन राजाहरु काठमाडौँ उपत्यकामा युद्ध गर्न गएका थिए । पछि सेन राजाहरु मध्ये रुद्र सेनका छोरा मणी मुकुन्द सेनका ४ रानीहरुलाई राज्य बाढ्ने क्रममा कान्छी रानीका छोरा लोहाङ्ग सेनको भागमा मकवानपुर राज्य पर्न गयो । पछि सेन राजाहरुकै पुस्ता विस्तार हुने क्रममा राघव सेन हुँदै माणिक सेन राजा भए । उनको पालामा नै वंशगोपाल र सिद्धेश्वर महादेव स्थापना गरि सञ्चालनको लागि विर्ता जग्गाको व्यवस्था हरिएको थियो । क्रमशः माणिक सेनको छोरा हेमकर्ण सेनले अरु राज्यहरुसँग सम्बन्ध बढाउने उद्देश्यले गोरखाका राजा नरभूपाल शाहका छोरा पृथ्वीनारायण शाहलाई आफ्नो कान्छी छोरी इन्द्रकुमारी विवाह गराइदिएका थिए । हेमकर्णको मृत्युपछि छोरा दिग्वर्धन सेन राजा भए ।
ज्वाईँ पृथ्वीनारायण शाहसँग दाईजोको निहुँमा मन मुटाव भएपछि वि.सं. १८१९ भाद्र ९ गते पृथ्वीनारायण शाहको फौजले मकवानपुर गढी राज्यलाई आक्रमण गरी विजय प्राप्त गरि आफ्नो अधिनमा लिए । पृथ्वीनारायण शाहको नेपाल एकिकरणमा पहिलो विजय राज्य भनेको मकवानपुर थियो । यस गढीको पश्चिम-उत्तरमा सुरक्षा फौजले परेड खेल्ने डडुवा गढी पर्दछ ।
मकवानपुर गढी हेटौँडा बजारबाट पुर्वोत्तर कान्तिराजपथ हुँदै १६ किलोमिटर दुरीमा पर्दछ । यसको पश्चिमी उच्च भु-भाग ३०० मिटर माथि समुद्र सतहबाट १००० मिटर उचाईमा पर्दछ ।
नेपालका साना ठुला २०० गढीहरुमध्ये यो गढी राजधानी समेत भएकोले नेपालकै मुख्य र ठुलो गढी मानिन्छ । १३२ रोपनी क्षेत्रफल र किल्ला भित्र मात्र १६ रोपनी जग्गा भएको यो गढी वास्तुशास्त्र अनुसार, लम्बाई १२५ मिटर र चौडाइ ३५ मिटर, वर्गाकारमा निर्माण भएको थियो । अर्को रोचक तथ्य, यस गढीमा वि.सं. १९९९ माघमा हिमबर्षा समेत भएको थियो । भनिन्छ यहाँबाट सफा मौसममा भारतको सिमावर्ती सहर रक्सौल सम्म देख्न सकिन्छ ।
यस गढीको विर्ता जग्गा बारा जिल्लाको बरियारपुर स्थित गढीमाई मन्दिर र कलैयाको सिध्देश्वर महादेवबाट उक्त देवी देवताको मूर्ति त्यहाँका लागि पुजाआजा गरेको पाईन्छ । हाल यहाँ वंशगोपाल र सिद्धेश्वर महादेवको मन्दिर रहेको छ ।

मकवानपुर गढी दरवार क्षेत्र

तस्विरहरु हेर्नुहोस्